Breaking News

यातायात समितिका रोक्का गरिएका खाता नखुल्ने, रकम स्वतः राज्यकोषमा

काठमाण्डौ, १० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले यातायात समितिहरूका रोक्का गरिएका खाता नखुल्ने बताएका छन् । यातायात समितिलाई कम्पनीमा लैजाने निर्णय भएसँगै सरकारले यातायत समितिका बैंक खाता रोक्का गरेको थियो ।

संसदको विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री महासेठले समिति खारेज गरेर कम्पनीमा जाने निर्णय भइसकेकोले रोक्का खाताहरू नखुल्ने बताएका हुन् । जिल्ला प्रशासन कार्यालयमा गैर नाफामूलक संस्थाका रूपमा दर्ता भएका यातायात समितिहरूका रोकिएका खाता खोल्नु गैर कानूनी हुने समेत उनले जिकिर गरे ।

अब ती समितिहरू नवीकरण नहुने भएकोले बैंक खाताको रकम स्वतहः राज्य कोषमा जाने उनको तर्क छ । राज्यको सम्पत्ति भएकोले रकमलाई के कसरी खर्च गर्ने भन्ने विषय मन्त्रिपरिषदको अधिकारको विषय रहको उनले बताए ।

‘जनताले सिन्डीकेट अन्त्यको महसूस गर्न पाएका छैनन्, तर मंसिरपछि महसूस गर्नेछन्,’ मन्त्री महासेठले भने, ‘मंसिरसम्मका लागि समितिहरूलाई कम्पनीमा जाने म्याद दिइएको छ।’ समितिका खातामा कति रकम छ भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि १० प्रतिशत भाडा वृद्धि र रोकिएका खाता फुक्का हुनु पर्ने माग गरेका थिए । यातायात व्यवस्था विभागले सो विषयमा सहमति जनाएपछि यातायात पुनः सञ्चालनमा अाएको थियो ।

shares