Breaking News

रिडी-तम्घास सडक निर्माणमा लापरबाही, सरकारी निकाय नै बचाउमा

शिवलाल सुवेदी/गुल्मी, १० असोज । रिडी-तम्घास सडक सदरमुकाम तम्घास जोड्ने जिल्लाकै पहिलो र एक मात्र सडक हो । काठमाडौ, वुटवल पाल्पा हुँदै उक्त सडक भएर जिल्लाको सदरमुकाम तम्घासको यात्रा गर्न सकिन्छ । रिडी तम्घास सडकमा दैनिक ४ सयभन्दा बढी सवारीका साधनहरू आवजजावत गर्छन् ।

लामो समयदेखि साँघुरो कालोपत्रे सडकलाई पछिल्लो समय फराकिलो र ग्राभेल गर्ने काम धमाधम शुरु भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले हेर्ने सडकमा अहिले पनि करिब ४ करोडको काम धमाधम भैरहेको छ । एसियाफिक प्रदीप जेभीले रिडी तम्घास सडक अन्तर्गत रिडी रातामाटा खण्डमा ३ करोड ८६ लाखमा ग्राभेल, कटिङ्ग, नाली निर्माण गर्ने र पर्खाल लगाउने काम गरिरहेको छ ।

निर्माण कम्पनीले सडक निर्माण गर्ने काम धमाधम गरेको भएपनि निर्माणमा चरम लापराबाही भएको पाइएको छ । सडक डिभिजन कार्यालयसँग भएको सम्झौता विपरीत निर्माण कम्पनीले काम गरेको हो । निर्माण कम्पनीले सम्झौता विपरीत काम गर्दा समेत सडक डिभिजन कार्यालय पाल्पाले कुनै चासो देखाएको छैन । पटक–पटक जानकारी गराउँदा समेत सडकको अवस्थाका बारेमा केही गर्न नसकेको गुल्मीका निर्माण ब्यवसयीहरूको आरोप रहेको छ ।

जिल्लाको सदरमुकाम तम्घास आउने पुरानो र एक मात्र सडक निर्माणमा भएको लापरबाही जानकारी गराउँदा समेत कुनै चासो दिंदैन सडक डिभिजन पाल्पाले निर्माण ब्यवसायी भोज प्रसाद श्रेष्ठले भने, ‘ग्राभेल, नालीमा मापदण्ड नै नपु¥याई धमाधम काम भैरहेको छ ।’ उनले सडक डिभिजन नै मिलेमतोमा गुणस्तरहीन काम भएको बताए । उनले सरकारी प्राविधिकले निर्माणका बेला गर्नुपर्ने सुपरिवेक्षण नगर्दा कमजोर संरचना बनिरहेको बताए ।

‘रिडीमाथि रातामाटामा अहिले ग्राभेलको काम भैरहेको छ’ श्रेष्ठले भने ‘ग्राभेल गर्दा पहिले माटो सबै फालेर तल ग्रेडिङ गरेपछि मात्र माल भरेर ग्राभेल गर्नुपर्ने हो तर निर्माण कम्पनीले ग्रेडिङ नै नगरी ग्राभेल गरेको छ ।’ उनका अनुसार यसो गर्दा पछि सडकमा खाल्डाखुल्डी हुने गर्दछ ।

यता सडक डिभिजन कार्यालय पाल्पाका सुपरभाइजर चिरञ्जीवि ज्ञवालीले पनि ग्राभेल गर्नुभन्दा अगाडि ग्रेडिङ नगरेको बताए । उनका अनुसार सबग्रेड नगरिकन सबबेस राखेको बताए । सबग्रेड गरेर ८ इन्च माल राख्नुपर्ने भएपनि निर्माण कम्पनीले ३/४ इन्च मात्र माल त्यो पनि माटोमै राखेको छ ।

सडक डिभिजनकै सब-इन्जिनियर कामेश्वर मण्डलका अनुसार पनि पिसीसी नाली ढलान १० सेन्टीमिटरको भएको भएपनि ठेकेदारले कहींकतै ४ सेन्टीमिटर मात्रै गरेको बताए । उनका अनुसार पनि ग्राभेल गर्नु पूर्व ग्रेडिङ गर्नुपर्ने भएपनि मेसिनहरूलगायत लोड गाडीहरू हिडिरहेकाले ग्रेडिङ नगरेको बताए । १५ सेन्टिमिटरको बक्स बनाएर पहिले ग्रेडिङ गर्नुपर्ने सम्झौतामा त उल्लेख छ सब–इन्जिनियर कामेश्वर मण्डलले भने, ‘यहाँ गाडीहरू हिडिरहेकाले ग्रेडिङ गर्नु नपर्ने देखिएर नगरिएको हो, तर नियतवश भने हैन ।’

उनले निर्माण कम्पनीलाई काम अनुसारको बिल मात्र भुक्तानी गर्ने बताए । निर्माण कम्पनीका प्रतिनिधि विक्रम राईका अनुसार पेटी ठेकेदारहरूले केही कमजोरी गरेको स्वीकार गरेका छन् । ‘पेटी ठेकेदारले नाली बनाउने कुरामा कमजोरी गरेको छ, म स्वीकार गर्छु’ उनले भने ‘यसलाई भत्काएर पुनः बनाउन भन्छु ।’ उनी पेटी ठेकेदारको नाममा आफू उम्कन खोजेका छन् ।

यता प्रदेश ५ का सासंद दिनेश पन्थीले काम गरुञ्जेल हेरेर बस्ने प्राविधिकले काम सम्पन्न भएपछि मात्र काम राम्रो भएन भन्ने प्रवृति हाबी भएको बताए । ‘सरकारका प्राविधिकले काम भैरहँदा हेर्नुपर्ने हो’ उनी भन्छन् ‘सरकारको लगानीमा बन्ने सडक, पुल, भवनजस्ता संरचना बनाउँदा मापदण्ड पूरा नगरी बनेमा ती हेर्ने जिम्मा पाएका प्राविधिकलाई कारबाहीको पहिलो दायरामा ल्याउनुपर्ने हो ।’ आफ”ले यसबारे बुझ्ने र गलत भएको रहेछ भने बाटो निर्माण गर्ने ठेकेदार र सडक डिभिजन कार्यालय पाल्पाका कर्मचारीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उनले बताए ।

सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर र ठेकेदार मिलेर सडक गुणस्तरहीन बनाएको स्थानीयको भनाइ रहेको छ । निर्माणको चरणमा स्थानीयले पटक पटक गुणस्तरहीन काम भैरहेको गुनासो गरेपनि सडक कार्यालयको प्राविधिक नआउने र ठेकेदारले आफूखुसी काम गरेकाले लामो समय नटिक्ने स्थानीयको आरोप छ ।

स्थानीय दधिराम पाण्डेले सडकका प्राविधिकहरूको चरम लापर्वाहीका कारण रिडी रातामाटा सडकखण्डमा गुणस्तरहिन काम भएको बताए । ठेकेदार र कर्मचारीको मिलेमतोमा प्राविधिकको इस्टमेट अनुसार सडकको काम नभएको उनले दाबी गरे । ‘निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’ उनले भने ‘यहाँ सडक डिभिजनकै प्राविधिकहरूले काम गर्ने ठेकेदारलाई कारबाहीको सट्टा संरक्षणका कारण निर्माण कार्यमा मनपरी भएको हो ।

shares