Breaking News

राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रणको प्रयास गरिने

काठमाण्डौ, ९ असोज । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रणको प्रयास गरिने बताएका छन् ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी गराउँदै गृहमन्त्री थापाले मुलुकमा हत्या, हिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको बताए । सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको उनको भनाइ छ ।

निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उनले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कम्जोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भएपनि हत्यारालाई कानूनी कठघरामा उभ्याउन सफल हुने दाबी गरे ।

गृहमन्त्री थापाले विकास र समृद्धिको माध्यम पनि समाजलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । सरकार र नागरिकको समन्वयमा मात्र पूर्ण सुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए ।

गृहमन्त्री थापाले बर्दियामा भएको राममनोहर यादवको मृत्यु प्रहरी यातनाबाट नभई मस्तिष्कघातबाट भएको रिपोर्ट आएको जानकारी पनि दिए । उनले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह समेत गरे ।

बैठकमा सांसदहरूले सामुदायिक वन, निजगढ विमानस्थल, पेट्रोलियम पदार्थको अन्वेषण, वैदेशिक रोजगार, सुरुङमार्ग र पुल निर्माण तथा हत्या हिंसासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

shares