Breaking News

नेपालको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण: सभामुख

काठमाण्डौ, ९ असोज । सभामुख कृष्णबहादुर महराले नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट विकास गर्ने धेरै सम्भावना रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल पर्यटन पत्रकार महासंघको तेश्रो साधारणसभा उद्घाटन गर्दै सभामुख महराले नेपालमा धार्मिक सांस्कृतिक लगायतका पर्यटकीय स्थल निकै रहेको भन्दै नेपालको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने समेत बताए ।

नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र नै भएको उल्लेख गर्दै सभामुख महराले पर्यटन क्षेत्रको विकास गर्न सके समग्र मुलुकको विकास हुने धारणा पनि राखे । पर्यटन क्षेत्रबाट मुलुकको विकास गर्नका लागि राज्यसंग स्पष्ट भिजन हुन जरुरी रहेको उनको भनाइ छ ।

सभामुख महराले पत्रकारिताका माध्यमबाट पनि नेपालको पर्यटन विकास र पर्यटनको सम्भावना रहेको क्षेत्रलाई औंल्याई राज्यको ध्यानाकर्षण गराउन आग्रह गरे ।

कार्यक्रममा पर्यटनक्षेत्रका विज्ञहरूले पर्यटकीय क्षेत्रको उचित विकास गर्दै अघि बढ्न सके नेपालमा पर्यटकहरूको आगमनले तीव्रता पाउने बताएका थिए ।

shares