Breaking News

३ किलो सुनसहित पक्राउ परेका तामाङ र घले सार्वजनिक

काठमाण्डौ, ९ असोज । काठमाडौंको टोखाबाट ३ किलो सुनसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गर्दै रसुवाका पेम्बा तामाङ र नरबहादुर घलेलाई तीन किलो सुनसहित सार्वजनिक गरेको हो ।

रसुवा केरुङ नाका हुँदै सुन तस्करी भइरहेको सूचनाका आधारमा काठमाडौंको तीनपीप्ले र टोखा रोडमा निगरानी गरिरहेको अवस्थामा टोखामा बा ७३ प ३४०२ नंबरको पल्सर मोटरसाईकलमा आएका २ जनालाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट तस्करी गरिएको ३ किलो सुन भेटिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

सुन ल्याउनेहरू भरियामात्र भएको र वास्तविक धनीको खोजी कार्य भइरहेको उनले बताए । बरामद गरिएको सुनको बजार मूल्य १ करोड ५० लाख २० हजार सात सय रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । प्रमुख एसएसपी लामाले पक्राउ गरेका दुई जनाले यसअघि दुई महिनामा तीन किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

सुन मगाउने व्यापारीका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares