Breaking News

संघीय संसदमा शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुमोदन

काठमाण्डौ, ९ असोज । संघीय संसदले शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी अन्तराष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पास गरेको हो ।

शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौतामाथिको छलफलमा सहभागी हुँदै सांसद खगराज अधिकारीले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव प्रशंसनीय रहेकाले यसलाई अनुमोदन गरेर अघि बढ्नुपर्ने बताए ।

सासंद प्रेम सुवालले शान्ति विश्वविद्यालय बनाउने कुरा राम्रो भएपनि पाठ्यक्रम राम्रो बन्न सकेन भने अपेक्षाकृत उपलब्धी नहुने भन्दै पाठ्यक्रम निर्माणमा उचित ध्यान दिनुपर्नेमा जोड दिए । उनले साम्राज्यवाद र पूँजीवादको समाप्ति नभएसम्म शान्ति सम्झौता अनुमोदन गर्दैमा शान्ति नआउने तर्क गरे ।

सांसद पुष्पा भुसालले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुमोदन गर्नु अगाडि विश्वविद्यालयको पाठ्क्रमलाई छलफलको विषय बनाइनुपर्ने बताइन् । कुनै पनि नेपाली नागरिक अन्तराष्ट्रिय शान्ति विश्वविद्यालयमा पढेर आइसकेपछि शिक्षा मन्त्रालय वा नेपालको विश्वविद्यालयको राय के हुने भन्नेबारे पहिले नै स्पष्ट हुनु जरुरी रहेको बताइन् ।

सांसद नवराज सिलवाल नयाँ पुस्तालाई द्वन्द्व अन्त्य गर्दै शान्ति स्थापनामा लिनुपर्ने नेतृत्व र सक्रियता अघि बढाउने सन्दर्भमा कोस्टारिकाको शान्ति विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले नेपालले लामो समयदेखि अन्तराष्ट्रियस्तरमा शान्ति स्थापनामा संयुक्त राष्टसंघलाई सहयोग पुर्याउँदै आएको परिवेशमा सम्झौता पास गर्दा अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने बताए ।

सासद देव गुरुङ्गले महासन्धि पास गर्ने प्रस्ताव सकारात्मक भएपनि अंग्रेजी अनुवादमा कतिपय भाषाहरू अस्पष्ट भएकाले स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिए ।

परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । सांसदहरूले प्रस्तावमाथि उठाएको प्रश्नको जवाफ दिंदै मन्त्री थापाले अन्तराष्ट्रिय सम्झौताको नेपाली अनुवादमा देखिएका भाषागत भएका त्रुटीलाई सच्याइने र प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए ।

संयुक्त राष्ट्रसंघको सहयोगमा जापान र कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना भएको छ ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अशोज १२ गते कोस्टारिका पुगी त्यहाँस्थित शान्ति विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार अपरान्ह २ बजे बोलाइएको छ ।

shares