Breaking News

भक्तपुरका दुई नगरप्रमुखका यस्ता छन योजना

भक्तपुर, १४ जेठ । भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखले अा -अाफ्ना नगरलाई सम्बृद्ध बनाउने घोषणा गरेका छन ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुर नपाका नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुनदर श्रेष्ठले विकासकाे खाका प्रस्तुत गरेका हुन ।
भक्तपुरका नगरप्रमुख प्रजापतिले आगामी पाँच वर्ष भित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाउने बताए । जनताले स्थानीय सरकार नगर मै पाएको अनुभूति गर्ने गरि पार्टीको घोषणा पत्रमा अनुसार काम गर्ने बताउँदै उनले सुरुवातमा खानेपानी र सरसफाईको समस्या समाधान गर्ने  बताए ।
प्रजापतिले सरसफाईको समस्या समाधानका लागि सरसफाई डिभिजन कार्यालयका कर्मचारीसंग छलफल गरेको बताउँदै ढलको उचित व्यबस्थान गर्दै भक्तपुरको हनुमानघाट र सल्लाघारीमा रहेका दुई उपचार पोखरीलाई जतिसक्दो छिटो संचालनमा ल्याएर ढलको सफाई गरेर मात्र पानी हनुमन्ते खोलामा लैजाने योजना सुनाए ।
भूकम्पले भत्काएको संरचनाहरु पुर्न निर्माणका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई जिम्मेवारी दिइसकेकाे बताउँदै उनले पुरातत्व विभाग र सरोकारवालाहरुसंग छलफल गरी पुर्ननिर्माणलाई तिब्रता दिने बताए ।
भक्तपुर नगरमा जन्मेका यहाँका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यबस्थापन गर्ने योजना पनि प्रजापतिसँग छ ।
 नगरपालिकाले विश्वविद्यालय संचालनको सम्बन्धन पाएमा मेडिकल कलेज समेत संचालन गरेर अन्य कलेज भन्दा ५० प्रतिशत कममा डाक्टर उत्पादन गर्ने गरि कार्य अगाडि बढाइने नगरप्रमुख प्रजापतिले बताए ।
त्यसैगरि भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्रमा हाल दैनिक ३०० विरामीको स्वास्थ्य परीक्षण भइरहेको बताउँदै उनले भने—‘केन्द्रले अहिले २५ शैयाको अस्पतालको स्वीकृत पाईसकेको छ, अब भक्तपुरका बासिन्दालाई सबै उपचार यहीबाट गर्ने र भक्तपुरमा रहेको भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र लगायतलाइ व्यवस्थित गर्ने  तयारी गरेका छौ ।’ उनले भक्तपुरका जनताले परिवर्तन महसुस गर्ने गरि काम गर्ने, सरकारी कार्यालय वा कुनै पनि निकायले नगरपालिकासंग स्वीकृत नलिई निर्माण गरेका संरचना भत्काईने र स्वीकृत नलिई निर्माण गर्न नदिईने बताए ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक हब बनाउने योजना सुनाउदै  मध्यपुरमा रहेका शैक्षिक संस्थाहरुसंग समन्वय गर्ने, सरकारी र निजी विद्यालयहरुसंग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्ने कार्यक्रम अगाडि सार्ने बताए ।
 श्रेष्ठले सरकारी विद्यालयलाई निजी विद्यालयले सहयोग गर्ने र सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्ने गरि कार्य गर्दै मध्यपुरलाई शैक्षिक गन्तव्य बनाउने बताए । उनले नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री अस्पतालको नाम परिवर्तन गरि नेपाल कोरिया मैत्री अस्पताल राख्ने, अस्पतालको व्यबस्थापन परिवर्तन गरेर अस्पताललाई रिफरर केन्द्रका रुपमा विकास गरिने छ भने ।
‘मध्यपुर अस्पताललाई प्रबिधि र जनशक्तिबाट पूर्ण बनाउने, चिकित्सकको टोलीलाई उपचारको जिम्मा दिने र भक्तपुरका अन्य अस्पताल तथा पूर्वका अस्पतालबाट रिफर भएका विरामी यस अस्पतालमा ल्याएर सफल उपचार गर्ने गरि व्यबस्थापन गर्ने तयारीका साथ अगाडि बढेका छौ ।’ श्रेष्ठले भने । उनले नगरपालिकाले आफ्नै कलेजदेखि मेडिकल कलेज र नर्सिङ्ग कलेजसम्म संचालन गर्ने बताए ।
नगरलाई सफा राख्न सफाई कर्मचारीको व्यबस्थापन गर्ने, तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने, तरकारीको बजार व्यबस्थापन गर्ने उनकाे योजना रहेको छ ।
हनुमन्ते र मनोहरा खोलामा करिडोरको रुपमा विकास गर्ने, नगर भित्र आन्तरिक चक्रपथको निर्माण गर्ने, यहाँको कला, संस्कृति र नाचहरुको संरक्षण गर्न कोष बनाउने गरी कार्य थालेको नगरप्रमुख श्रेष्ठले बताए ।
 संरचनाको नक्सा पासलाई कडाई गर्ने, अनुगमन तीब्र पार्ने, नक्सा पास नभएकाक हकमा अन्तिम मौका दिने, व्यबस्थित भू रणनीति तयार गर्ने तथा नक्सा पास र योजना स्वीकृतिका काममा आफै लाग्ने उहाँको भनाई थियो । जनताको काम बढीमा तीनदिन भित्र सम्पन्न गर्नेगरि जनताले परिवर्तनको अनुभूति गर्नेगरि कार्य गर्ने नगरप्रमुख श्रेष्ठले बताए । 

 

shares