Breaking News

अन्तराष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा सुरु

काठमाण्डौ, ९ असोज । २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार काठमाडौंमा २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलनको उद्घाटन गरेका हुन् । विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरूको संगठन (एआईआरडिसी) ले सो सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बीमा क्षेत्रमा देखिएको जोखिम न्यूनिकरण गर्न सबै पक्षलाई लाग्न आह्वान गरे । उनले प्रविधिको नयाँ–नयाँ प्रयोगसँगै बीमा क्षेत्रमा पनि चुनौति थपिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढ्न विकासशील राष्ट्रहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

अर्थमन्त्री खतिवडाले नेपालले बीमामार्फत् जनतालाई सशक्त बनाएर गरिबी निवारण गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । उनले बीमा सेवाले सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न ढिलाइ गर्न नहुने पनि बताए ।

२ दिनसम्म चल्ने अन्तराष्ट्रिय सम्मेलनमा विदेशी करिब २ सय तथा स्वदेशी करिब ४ सय बढीको सहभागिता रहेको छ । सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्यूनिकरणमा बीमा कम्पनीहरूको भूमिकाका विषयमा पनि विस्तृत छलफल हुने बीमा समितिले जनाएको छ ।

shares