Breaking News

समलिङ्गीको आधारभूत मानवअधिकार प्रत्याभूतिमा सरकार दृढ छ: कानूनमन्त्री

काठमाण्डौ, ९ असोज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समलिङ्गीको आधारभूत मानवअधिकार प्रत्याभूतिमा सरकार दृढ रहेको बताएका छन् ।

ब्लु डायमण्ड सोसाईटीले मंगलबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले लोकतन्त्र आइसकेकाले अब कसैले पनि अधिकारका लागि रगत बगाउनुपर्ने अवस्था नरहेको भन्दै समलिङ्गीको आधारभूत मानवअधिकार प्रत्याभूतिमा सरकार दृढ रहेको बताएका हुन् ।

मन्त्री ढकालले समलिङ्गीको विवाहको अधिकारको विषयमा पनि सरकार गम्भीर रहेको स्पष्ट पारे । उनले तेश्रो लिङ्गीको सम्मान र पहिचानको हक स्थापित भइसकेकाले पहिचानको आधारमा नागरिकता दिने कार्यलाई अझै व्यवस्थित बनाउन सरकारले नागरिकता सम्बन्धी कानून संशोधनको प्रक्रिया अघि बढाएको बताए ।

मन्त्री ढकालले संविधानमा उल्लेख भएका मौलिक हक यौनिक अल्पसङ्ख्यक समेत सबैको हकमा समान रूपले लागू हुने भएकाले सबै मौलिक हक उपभोग गर्ने अवस्था श्रृजना भएको बताए ।

कार्यक्रममा यौनिक अल्पसंख्यकहरूले संविधानमा लेखिएको कुरा आफूहरूको हकमा कार्यान्वयन नभएको तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कानुनी अधिकार खोसेर राज्यले आफूहरूमाथि राष्ट्रिय अन्याय गरेको गुनासो गरेका थिए ।

shares