Breaking News

दसैंका लागि अाजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डौ, ९ असोज । यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

यातायात व्यवसायीहरूले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार देशभर दसैंको अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

महासचिव सिटौलाले सरकारसँग गरिएको सहमति अनुसार भाडादर १० प्रतिशत वृद्धि गरिएको पनि स्मरण गराए । यस वर्ष करिब २० लाख मानिसहरू दसैंका लागि घर जाने अनुमानसहित महासंघले गाडीको उचित व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको छ ।

उनले दसैंमा घर जाने यात्रुहरूलाई सहज ढंगले सवारी साधन उपलब्ध गराउन महासंघले अनुगमनको काम पनि एकसाथ अघि बढाएको पनि स्पष्ट पारे । गाडीको सहज व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सिटौला सदस्य सचिव रहेको अनुगमन समिति नै बनाइएको छ ।

त्यसैगरी टिकट काउन्टर व्यवस्थापनका लागि पनि छुट्टै समिति बनाइएको महासचिव सिटौलाले जानकारी दिए ।

shares