Breaking News

पृथ्वीराजमार्गको मनहरीमा दुई बस जुध्दा २ महिलाको मृत्यु, आठ घाइते

तनहुँ, ९ असोज । पृथ्वीराजमार्गको म्याग्दे ४ मनहरीमा मंगलबार बिहान दुई यात्रुवाहक बस आपसमा ठक्कर खाँदा दुई महिलाको मृत्यु भएको छ ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ आउँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट तीव्र गतिमा आइरहेका बस आपसमा ठोक्किदा तनहुँको व्यास नगरपालिका वडा नं ४ की ३५ वर्षीया सरस्वती कुँवर र अर्की एक महिलाको मृत्यु भएको छ । टाउकोमा चोट लागेका दुवैको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अन्दाजी २८ वर्षीया महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा अन्य आठ यात्रु घाइते भएका छन । घटनामा गम्भीर घाइते भएका माइक्रोबसका चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ कि बिष्णुमाया वस्नेतलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी सुुनवल नगरपालिका ४ बस्ने २१ वर्षकी पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्गका ३५ वर्षका पदम बहादुर कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

अन्य यात्रुको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

shares