Breaking News

वसन्तपुरमा मनाइयो इन्द्रजात्रा, राष्ट्रपतिद्वारा अवलोकन

काठमाण्डौ, ८ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी सोमबार परम्परागतरूपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक भक्तपुरको चित्तपोलबाट ल्याइएको इन्द्रध्वजासहितको ३६ हात लामो लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ ।

इन्द्रजात्रा पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गरी दर्शन गरिन् । इन्द्रजात्राको अवलोकन गर्नुअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ पनि गरेकी थिइन् ।

शुक्रबारबाट सुरु भएको काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिले दर्शन गरी दक्षिणा चढाएपछि तीनै देवताको रथ वसन्तपुर र हनुमानढोका क्षेत्रका विभिन्न स्थानमा घुमाउने प्रचलन छ ।

त्यस्तै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखको वसन्तपुर डबलीमा उपस्थिति रहेको थियो ।

ईन्द्रजात्रामा बाजागाजा, विशेष आकर्षण मानिने पुलुकिसी र लाखे नाचलगायतका मौलिक संस्कृतिको प्रदर्शन हेर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटकको समेत उपस्थिति थियो । उपत्यकावासी जात्रा हेर्न आउने कारणले प्राचीनकालदेखि नै यस दिन उपत्यकामा सरकारी बिदा दिँदै आएकोे छ ।

प्राचीन किंवदन्तीअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।

shares