Breaking News

हुलाकी सडक निर्माण प्राथमिकतामा: अर्थमन्त्री

खगप्रसाद चापागाई/कपिलवस्तु, ८ असोज । नेपाल सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले हुलाकी सडक निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

कपिलवस्तु सदरमुकाम तौलिहवा जोडिएको सुठौली छोटी भंसार नाकालाई मूल भंसार नाकामा स्तरोन्न्ति गर्ने निर्णय अनुसार मूल भंसारको उद्घाटन गर्न जिल्ला आएका उनले सो विचार व्यक्त गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री खतिवडाले आफूले तौलिहवा बहादुरगंज जोड्ने हुलाकी राजमार्गका समस्याबारे जानकारी पाएको स्पष्ट पार्दै केही प्रक्रियागत विषय पूरा गरेर हुलाकी सडक निर्माणको कार्य अगाडि बढाइने बताए ।

नेपाल सरकारले हुलाकी मार्गको निर्माण सम्पन्न गरेर भारत सरकारसँग रकम फिर्ता लिने भएकाले रकमकै कारण निर्माण रोकिने उनले बताए । सुठौली भंसार मूल भंसारमा स्तरोन्नति भएसँगै यस क्षेत्रको विकासले फड्को मार्ने उनको टिप्पणी थियो ।

देशभरका १ सय ४३ छोटी भंसारमध्ये सुठौली भंसारसहित ५ वटालाई मूल भंसार कायम गरिएको स्पष्ट पार्दै आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरणमा सबैको सहयोग आवश्यक रहेको भंसार विभागका महानिर्देशक तोयम रायमाझीले बताए ।

भंसारको स्तरोन्नतिसँगै हुलाकी मार्गको निर्माण तथा सीमा क्षेत्रमा ईमिग्रेसन प्वाईन्ट सञ्चालन गर्न सके बुद्धस्थल कपिलवस्तुमा आउने पर्यटकको संख्यामा वृद्धि भई जिल्लाको विकासलाई सहयोग पुग्ने संघीय सांसद बृजेश कुमार गुप्ताले बताए ।

shares