Breaking News

ट्युसन पढ्न गएका बालक ३ दिनदेखि बेपत्ता

बुटवल, ८ असोज । विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि  बेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का विद्यार्थी युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि फर्किएका छैनन् ।

ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स पाइन्ट र चप्पल लगाएर युनिस ट्युसन पढ्न गएका थिए । युनिस सानैदेखि तिलोत्तमा १ चपरहट्टीस्थित मामाको घरमा बसेर पढ्दै आएका थिए ।

युनिसका बुबाको केही वर्षअघि मृत्यु भइसकेको छ भने आमा हेमा गिरीले दोस्रो विवाह गरी पोखरामा बस्दै आएकी छिन् । युनिस हराएपछि वडा प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएको तर तेस्रो दिनसम्म कुनै अत्तोपत्तो नलागेको युनिसकी सानीआमा गीता पौडेलले बताइन् ।

वडा प्रहरी कार्यालय बुटवलका प्रमुख अमर थापा क्षेत्रीका अनुसार इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयसम्म जानकारी गराइसकेको र खोजी कार्य तीव्रताका साथ भइरहेको छ ।

shares