Breaking News

दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाण्डौ, ८ असोज । दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि मंगलबारबाट खुल्ने भएको छ ।

नेपाल यातायात व्यवसायी महासंघको सोमबार बसेको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । दसैंका लागि भोलिबाट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै यातायात व्यवसायीहरूले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा वृद्धि गर्न व्यवसायीसँग सहमति गरेपछि महासंघको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरिसकेको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार सहरी क्षेत्रमा न्यूनतम १४ रुपैयाँ कायम गरिएको छ ।

महासंघले दसैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरूलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापनलगायतका समिति पनि बनाएको छ ।

वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सरोज सिटौला सदस्य सचिव रहेको अनुगमन समितिले यात्रुहरूलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाए/नबनाएको अनुगमन गर्ने पनि महासंघका अध्यक्ष कर्माचार्यले बताए । त्यसैगरी टिकट काउन्टर व्यवस्थापन समितिले टिकट वितरणको उचित व्यवस्था गर्नेछ ।

काठमाण्डौमा स्थायी रूपमा बस्ने र विभिन्न कारणले बसोबास गर्दै अाइरहेका सर्वसाधारण दसैंमा ठूलो संख्यामा उपत्यकाबाट बाहिरिने गर्दछन् ।

shares