Breaking News

अवैध रूपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न जनमोर्चाको माग

काठमाण्डौ, ८ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अवैध रूपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रूपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित नागरिकतासम्बन्धी विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई दबाब दिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरूलाई आग्रह गरे ।

अध्यक्ष केसीले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरूलाई समेत प्रयोग गर्न सक्ने आशंका पनि व्यक्त गरे । राष्ट्रलाई जोगाउन पनि अवैध रूपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाइ गर्न नहुने अध्यक्ष केसीको भनाइ छ ।

अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दबाब दिने काम गरिरहेको दाबी पनि गरे ।

shares