Breaking News

पाटे बाघ संरक्षणमा नेपालको प्रयास विश्वकै लागि उदाहरणीय: विश्व वन्यजन्तु कोष

काठमाण्डौ, ८ असोज । पछिल्लो समय दुर्लभ हुँदै गएको पाटे बाघको संख्या बढाउन नेपालले गरेको सार्थक प्रयास विश्वकै लागि उदाहरणीय भएको विश्व वन्यजन्तु कोषले जनाएको छ ।

लक्ष्यभन्दा अगाडि नै नेपालले पाटे बाघ वृद्धिको लक्ष्य हासिल गरेपछि कोषले यस्तो टिप्पणी गरेको हो । कोषका वरिष्ठ उपाध्यक्ष गिनेट्टा हेम्लीले नेपालले पाटे बाघ संरक्षणमा पाएको सफलताले संसारलाई नै चकित पारेको प्रतिक्रिया दिएका छन् । ‘नेपालबाट विश्वले सिक्नुपर्छ’, उनले भने ।

लक्षित अवधिभन्दा अघि नै नेपालले बाघको संख्या लगभग दोब्बर बनाएको कोषले जनाएको छ । नेपालबाहेक अन्य राष्ट्र पनि यो अभियानमा लागेको भएपनि नेपाल पहिलो भएको कोषको ठहर छ ।

पछिल्लो बाघ सर्वेक्षण अनुसार नेपालमा करिब २ सय ३५ पाटे बाघ भेटिएका छन् । यो संख्या सन् २००९ को तुलनामा दोब्बर हो । बाघको संख्या सन् २०२२ मा दोब्बर पार्ने विश्वव्यापी योजना भएपनि नेपालले त्यसअघि नै लक्ष्य भेटेको वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बताए ।

बाघको संरक्षणमा नेपाल सबैभन्दा अगाडि देखिएको भन्दै विश्व वन्यजन्तु कोषले यसमा स्थानीय समुदाय र सरकारको सहकार्य महत्वपूर्ण रहेको जनाएको छ ।

सरकार र समुदायसँग मिलेर बाघ संरक्षणका लागि काम गरिरहेकोले कोष उक्त अभियानमा सफल रहेको गुरुङले जिकिर गरे ।

विश्वभर हाल करिब ४ हजार पाटे बाघ छन् । जसमध्ये २ सय ३५ वटा नेपालमा गणना भएका छन् ।

shares