Breaking News

कर्ण र जैरुले लिए पद तथा गोपनीयताको सपथ

काठमाण्डौ, ७ असोज । संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्ण र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति निरादेवी जैरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाइ विशेष समितिका सभापति कर्ण र राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिकी सभापति जैरुलाई आइतबार अपरान्ह सिंहदरबारमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । यसअघि बसेको समितिको छुट्टाछुट्टै बैठकले कर्ण र जैरुलाई सभापतिमा निर्विरोध चयन गरेको थियो ।

नवनिर्वाचित सभापतिद्वय कर्ण र जैरुलाई सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए । त्यस अवसरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दुवै सदनको संयुक्त जिम्मेवारीलाई सभापतिद्वय कर्ण र निरुले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

सपथग्रहण समारोहमा उपसभामुख डा. शिवमाया तुम्बाहाङफे, राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसहितको उपस्थिति रहेको थियो । संसदीय सुनुवाइ विशेष समितिका नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुन् भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको नवनिर्वाचित सभापति जैरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रहेका छन् ।

shares