Breaking News

अर्थ मन्त्रालयले कामै गर्न नदिएको स्वास्थ्य राज्यमन्त्री यादवको अारोप

काठमाण्डौ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले अर्थ मन्त्रालयले कामै गर्न नदिएको आरोप लगाएका छन् । राज्यमन्त्री यादवले अर्थ मन्त्रालयले हस्तक्षेप गरेका कारण आफ्नो मन्त्रालयले काम अघि बढाउन नसकेको स्पष्टिकरण दिएका हुन् ।

आइतबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयको काम, कारबाहीबारे जानकारी गराउने क्रममा उनले कर्मचारीहरूको आन्दोलनले पनि मन्त्रालयको काममा अवरोध गरिरहेको स्पष्ट पारे । उनले कांग्रेस र कम्युनिष्ट पक्षमा विभक्त कर्मचारीतन्त्रले काम गर्ने वातावरण बिगारेको भन्दै त्यसलाई सल्ट्याउन पनि सबै राजनीतिक दलको नेतृत्वलाई आग्रह गरे ।

राज्यमन्त्री यादवले जनशक्तिको अभाव रहेकाले देशका सबै ठाउँमा स्वास्थ्यकर्मीहरू परिचालन गर्न नसकिएको पनि स्मरण गराए । उनले जनशक्ति कम भएपछि सबै ठाउँमा स्वास्थ्यकर्मी पु¥याउन नसक्नुलाई स्वभाविकै रूपमा लिनुपर्नेतर्फ पनि समितिका सदस्यहरूको ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्यहरूले सरकारको काम, कारबाहीलाई प्रभावकारी हुने गरी अघि बढाउन समितिका सदस्यहरूलाई प्रशिक्षणको व्यवस्था गर्न नवनिर्वाचित सभापति जयपुरी घर्तीलाई सुझाव दिएका थिए । समितिका सदस्य योगेश भट्टराईले समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद सचिवालयसँग सहकार्य गरेर सदस्यहरूका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गर्न सभापति घर्तीलाई आग्रह गरे ।

समितिका अर्का सदस्य खगराज अधिकारीले समितिको कामलाई प्रभावकारी बनाउन कार्यविधि बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए । उनले समितिको बैठक स्थलको समेत टुंगो लगाउन सभापति घर्तीको ध्यानाकर्षण गराए ।

समितिको बैठकमा नवनिर्वाचित सभापति घर्तीले सदस्यहरूसँग व्यापक छलफल गरी समितिको कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

shares