Breaking News

न्यायाधीश महाअभियोग चर्चा: कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन सरकारलाई सुझाव

काठमाण्डौ, ७ असोज । नेपाली कांग्रेसले महाअभियोगका नाममा यसअघि कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले न्यायाधीशलाई महाअभियोग लगाउने चर्चा सुनिएको भन्दै यस्तो गल्ती नगर्न सरकारलाई सुझाव दिए ।

अधिकारीले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनिएको बताए । कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको र जनताले त्यसको दण्ड पनि दिएको उनको भनाइ छ ।

त्यस्तै अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि अदालतले सरकारलाई सहयोग गर्नुपर्‍यो भनी सञ्चारमाध्यममा आएको समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आरोप पनि लगाए।

बैठकमा सांसद रामनारायण बिंडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै विरोध गरेको भन्दै कडा आपत्ति जनाए ।

बैठकले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको अर्को बैठक असोज ९ गते अपराह्न ३ बजे बोलाइएको छ ।

shares