Breaking News

संसदीय समितिमा महिलाकाे नेतृत्व, अवसरस‌ंगै जिम्मेवारीमा खरो उत्रने चुनौति (भिडियाे)

सृजना घिमिरे/राजनराज पराजुली

काठमाण्डौ, ७ असोज । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिमध्ये ६ वटाको सभापतिमा महिला निर्वाचित भएका छन् । संसदमा ३३ प्रतिशत मात्र संख्या भएपनि विषयगत समितिको नेतृत्वमा भने महिलाको बहुमत पुगेको छ । यसले राज्यका निकाय समावेशी हुनुपर्ने वकालत गर्दै आएकालाई केही खुसी बनाएको छ ।

हरेक राजनीतिक आन्दोलनमा अग्रपंतीमा रहने महिलालाई राज्यका मुख्य निकायमा स्थान दिन भने दलहरुले कन्जुस्याई गर्दै आएका छन् । २०६२-०६३ को जनआन्दोलनपछि महिला सहभागिताको आवाज चर्कियो र अन्तरिम संविधानमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरियो ।

तर अन्य निकायमा नेतृत्वको विषय उठनासाथ अपवादबाहेक पुरुषले नै प्राथमिकता पाए । प्रतिनिधिसभाका बहुमत समितिको नेतृत्वमा महिला निर्वाचित हुनुले समावेशिताको मुद्दा उठाउनेहरुलाई केही आशावादी बनाएको छ ।

यसअघि संसदीय समितिमा महिलाको सहभागिता झारा टार्ने खालको मात्र हुने गरेको थियो । अघिल्लो पटकको संसदमा रहेका ११ वटा विषयगत समिति मध्ये दुई वटामा मात्र महिलाले नेतृत्व गर्न पाएका थिए । यसपटक धेरैजना नेतृत्वमा पुगेपछि महिला नेतृमा पनि नयाँ जोस पलाएको छ ।

राष्ट्रियसभातर्फ पनि ४ विषयगत समितिमध्ये दुईवटाको नेतृत्व महिलाले नै पाएका छन् । यस्तै संघीय संसदकाे दुईवटा संयुक्त समितिमध्ये एउटाकाे नेतृत्व पनि महिलाकै भागमा परेकाे छ ।

संसद र सरकारलाई जनमुखी र जिम्मेवार बनाउन विषयगत समितिको महत्वपूर्ण भूमिका रहन्छ । यस्तो अवस्थामा नवनिर्वाचित महिला सभापतिलाई अवसरस‌ंगै जिम्मेवारीमा खरो उत्रने चुनौति पनि छ ।

हेराैं भिडियाे रिपाेर्टः

shares