Breaking News

चाडपर्वमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

काठमाण्डौ, ७ असोज । राष्ट्रियसभाका सांसदहरूले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल (थापा)ले दसैं, तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराएकी हुन् ।

उनले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गरिन् । सांसद रावलले दसैंमा राजधानीबाट घर जाने यात्रुहरूको यात्रालाई सहज हुनेगरी आवातजावतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूले परिचय पत्र तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरे । उनले शारीरिक रूपमा अशक्त नागरिकहरूलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरू राज्यबाट पाउने सुविधाबाट बञ्चित हुन पुगेकोतर्फ पनि सरकारलाई सचेत गराए ।

अर्की सांसद नैनकला ओझाले मोरङस्थित उर्लाबारी, कानेपोखरी, पथरी, शनिश्चरे, बेलबारीलगायतका स्थान रहेका सुकुम्बासीहरूलाई तत्काल जग्गाधनी लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेकी थिइन् ।

shares