Breaking News

इन्धन वितरणमा कोटा प्रणाली हट्यो, आजबाट मागेजति तेल पाइने

काठमाण्डौ, ७ असोज । नेपाल आयल निगमले केही दिनअघि इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको जनाएकाे छ ।

चालकहरूले आन्दोलन फिर्ता लिएपछि निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो । कोटा प्रणाली हटेसँगै आजबाट उपभोक्ताले माग बमोजिम तेल पाउने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

भट्टराईले भने, ‘इन्धन आपूर्ति सहज हुँदै गएकाले आजबाट कोटा प्रणाली हटाइएको हो । मागेजति तेल दिन हामीले पेट्रोल पम्पहरूलाई भनेका छौं ।’

इन्धन अभाव देखिएपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा तोकेको थियो ।

त्यस्तै डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराउन निगमले सूचना जारी गरेको थियो ।

shares