Breaking News

लोकतन्त्र मेला: परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड

काठमाण्डाै, ५ असाेज । विभिन्न दलका नेताहरूले लोकतन्त्रलाई सुदृढिकरण गर्न परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको बसन्तपुरमा जारी तीनदिने लोकतन्त्र मेलामा रहेका आफ्नो पार्टीका स्टलको शुभारम्भ गर्दै उनीहरूले नेपाली जनताको अधिकार र शान्ति र समृद्धिका लागि सबै गम्भीर हुनुपर्नेमा समेत जोड दिए । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले कांग्रेस मानवअधिकार, स्वतन्त्र न्यायपालिका लागयतमा विश्वास गर्ने भएकाले जनताको अधिकारप्रति सजक रहेको बताए । निधिले संविधानअनुसार प्राप्त विभिन्न उपलब्धीलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धिका लागि अघि बढ्नुपर्ने बताए ।

त्यस्तै राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले लोकतन्त्रबिना मुलुकमा जनताले अधिकार नपाउने बताए । उनले लोकतन्त्र मेलाले सबै दलको ईतिहास बुझ्न सजिलो हुने जिकिर गरे । त्यस्तै संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको भन्दै नयाँ परिवर्तनको सन्दर्भलाई सुदुढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपालमै पहिलो पटक आयोजना भएको लोकतन्त्र मेलामा विश्वका विभिन्न मुलुकबाट मेला हेर्न र कार्यपत्र प्रस्तुत गर्न विज्ञहरू जम्मा भएका छन् । राष्ट्रियसभाको विधान व्यवस्थापन समिति मेलाको आयोजक र काठमाडौं महानगरपालिका व्यवस्थापक हो । मेलाको खर्च १० लाख रुपैयाँ संसदको कोषबाटै गरिएको छ । लोकतन्त्रमा अभ्यस्त नेपालका लागि यो मेलाले थप प्रेरणा थप्ने अपेक्षा गरिएको आयोजकले जनाएकाे छ । मेला शनिबारसम्म चल्नेछ ।

shares