Breaking News

प्रतिवेदन भन्छ- बालक सलिनको मृत्यु हुनुमा भरतपुर अस्पताल मुख्य दोषी

चितवन, ५ असाेज । चितवनमा सर्पदंशबाट निधन भएका बालक सलिन बि.क.कोे सम्बन्धमा गठित छानबिन एवं सुझाव समितिले तयार गरेको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ ।

बालक सलिनको मृत्यु हुनुमा भरतपुर अस्पताल मुख्य दोषी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । करेट सर्पले टोकी घाइते भएका चितवनको भरतपुर महानगरपालिका वडा नं १५ मनकामना टोल निवासी बालक सलिन बि.क को उपचारका लागि यहाँका ५ ठूला अस्पतालमा चाहार्दै गर्दा उपचार नपाएर गएको भदौ २१ गते मृत्यु भएको थियो ।

बालक सलिनलार्इ उपचारका लागि सुरुमा भरतपुर अस्पताल लगिएको थियो । उनको आकस्मिक टिकटमा विषालु सर्पले टोकेको भनी लेखिएपनि आकस्मिक कक्षमा रहेका स्टाफ नर्स प्रमिला कार्की र अ.हे.व. आनन्द चौधरीले अस्पतालमा पीआईसीयू नभएको भन्दै पुरानो मेडिकल कलेज पठाएका थिए ।

यद्यपि सर्पले टोकेको बिरामीलार्इ पीआईसीयू नभएर एन्टिस्नेक भेनम भ्याक्सिन दिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख एवं यस घटनाका विषयमा गठित छानबिन तथा सुझाव समितिका संयोजक लक्ष्मी महत्तोले जानकारी दिए । त्यस समयमा भरतपुर अस्पतालको आकस्मिक वार्डमा रहेका चिकित्सक एवं कर्मचारीहरू पदीय जिम्मेवारीबाट च्यूत भएको उनको भनाइ छ ।

बालक सलिनको उपचारका लागि सुरुमा भरतपुर अस्पताल, पुरानो मेकिडल कलेज, नारायणी सामुदायिक अस्पताल, निको बाल अस्पताल र चितवन मेकिडल कलेज लगिएको थियो । सबै निजी अस्पतालले सर्पदंशको उपचार नहुने भन्दै बिरामीलार्इ फिर्ता पठाएका थिए ।

घटनाका विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निमित्त जनस्वास्थ्य प्रमुखको संयोजकत्वमा १३ सदस्यीय छानबिन तथा सुझाव समिति बनाएर प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए । प्रतिवेदनका आधारमा भरतपुर अस्पताल मुख्य दोषी देखिएकाले दोषी चिकित्सक एवं कर्मचारीलार्इ विभागीय कारबाही गर्न सम्बन्धित अस्पताललार्इ निर्देशन दिइने उनले जानकारी दिए । पीडित परिवारका एक सदस्यलाैर्इ रोजगारीको व्यवस्था गरिने उनको भनाइ छ ।

प्रतिवेदनमा कसको कहाँ कति त्रुटी हुँदा बालक सलिनको मृत्यु भएको भन्ने कुरा प्रतिवेदनमा स्पष्ट नभएको भन्दै प्रतिवदेनमा आफ्नो असन्तुष्टि रहेको समितिका आमन्त्रित सदस्य एवं सर्पदंश सम्बन्धी चिकित्सक देव प्रसाद पाण्डेले बताए ।

shares