Breaking News

सरकार र सवारी चालकबीच सहमति, आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता

काठमाण्डाै, ५ असाेज । नयाँ मुलुकी ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकहरूले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बूँदे सहमति भएपछि गाडी चालकहरूले बन्दसहितको आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन् ।

नयाँ मुलुकी ऐनमा व्यवस्था गरिएका कानुनी प्रावधानबारे रहेको अन्यौलता हटाउने काम भएपछि गाडी चालकहरू आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । उनले गाडी चालकहरूलाई नयाँ मुलुकी ऐनमा कानुनी समस्या नरहेको र कतिपय व्यवहारिक कठिनाई भए हटाउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

यता, नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्माले सरकारले आफूहरूको माग अुनसार नयाँ मुलुकी ऐन संशोधन गर्ने सहमति गरेपछि आन्दोलनको कार्यक्रम फिर्ता लिइएको स्पष्ट पारे ।

८ बुँदे सहमतिमा संघर्ष समितिले आह्वान गरेको नेपाल बन्दलगायतका कार्यक्रम फिर्ता लिने र आन्दोलनका क्रममा थुनामा रहेका चालकहरूलाई रिहा गर्ने उल्लेख गरिएको छ । त्यसैगरी सहमतिमा सवारी दुर्घटना हुन नदिन सडक मर्मत, संम्हारको कामलाई सरकारले तीव्रता दिने पनि स्पष्ट पारिएको छ ।

यसैबीच, सरकारले दशैंको टिकट अग्रिम बुकिङ खुला गर्न यातायात व्यवसायीलाई आह्वान गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नभई दशैंको टिकट अग्रिम बुकिङ सुरु नगर्ने यातायात व्यवसायीहरूले अडान लिइरहेका बेला सरकारले तत्काल सो सेवा सुचारु गराउन सचेत गराएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले दशैंको टिकट अग्रिम बुकिङ खुला गराउन यातायात व्यवसायीहरूलाई आग्रह गरे । उनले दशैंको टिकट बुकिङ खुलाउनुको विकल्प नरहेकोतर्फ पनि यातायात व्यवसायीहरूलाई सचेत गराए ।

यातायात व्यवसायीहरूले शुक्रबारबाटै दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय कार्यान्वयन नगरेपछि सरकारले त्यसमा ढिलाइ नगर्न सचेत गराएको हो । सचिव अधिकारीले व्यवसायीको केही समस्या भए सम्बोधन गर्ने तर सहमति अनुसार दशैंको टिकट अग्रिम बुकिङ खुलाउन ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे ।

shares