Breaking News

एएफसी यू १६ महिला च्याम्पियनसिपमा छनोट हुने नेपालको सम्भावना समाप्त

काठमाण्डाै, ५ असाेज । थाइल्याण्डमा हुने एएफसी यू १६ महिला च्याम्पियनसिपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

पहिलो खेलमा फिलिपिन्सँग ४–० ले पराजित भएको नेपाल शुक्रबार म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएपछि छनोटको सम्भावना सकिएको हो । हलचोक मैदानमा शुक्रबार भएको खेलमा म्यानमारले पहिलो हाफको सुरुदेखि नै गोलको वर्षा गरेको थियो ।

पहिलो हाफको चौथो मिनेटबाट गोल खान सुरु गरेको नेपालले ६३ औं मिनेटसम्म खेल पुग्दा ११ गोल खाएको थियो । नेपालले ७४औं मिनेटमा सान्तोना गोल फर्काएकाे थियो । नेपालका लागि एक मात्र गोल साबित्री ठोकरले गरेकी हुन् ।

म्यानमारका लागि स्वीओर माङले पहिलो हाफको ३८ मिनेट भित्र एक्लै ५ गोल गरेकी थिइन् । उनले चौथो मिनेटमा गोल गर्दै शुरुआत गरेकी थिइन् । उनले ४,६, १७, २० र ३८औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै मायाट खिनले ९, २९ र ३३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् ।

पहिलो हाफकै तेस्रो मिनेटमा जिन मारले गोल गरेकी थिइन् । फु रेनले ३०औं तथा पोन्ट पोन्टले ६३ औं मिनेट थप एक गोल गरिन् । म्यानमारले पहिलो हाफमा १० गोल गर्दा दोस्रो हाफमा भने १ गोल मात्र गरेकाे थियो ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा फिलिपिन्सले लगातार दोस्रो जित निकालेको छ । हलचोक रंगशालामा सम्पन्न खेलमा समूह ईमा रहेको फिलिपिन्सले मलेसियालाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको ८१औं मिनेटमा अलामोको गोल फिलिपिन्सको जितमा निर्णायक बन्यो ।

shares