Breaking News

फोहरजन्य तरलपदार्थ सिधै ढलबाट निकास गर्न नदिने नीति ल्याइने

काठमाण्डाै, ५ असाेज । सरकारले विभिन्न अस्पताल, औधोगिक क्षेत्र र अपार्टमेन्टबाट निस्कने फोहरजन्य तरलपदार्थ सिधै ढलबाट निकास गर्न नदिने नीति ल्याउने भएको छ ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले अस्पताल, औधोगिक क्षेत्र र अपार्टमेन्टबाट निस्कने फोहरजन्य तरलपदार्थ प्रशोधनपछि मात्र ढलबाट निकास गर्नुपर्ने मापदण्डसहितको व्यवस्था गर्न लागेको बताइन् ।

शुक्रबार काठमाडौंको विभिन्न स्थानमा रहेका अस्पताल, औधोगिक क्षेत्र र अपार्टमेन्टहरूबाट निस्कने फोहरजन्य तरलपदार्थको व्यवस्थापनका बारेमा स्थलगत जानकारी दिंदै फोहरजन्य तरलपदार्थ सिधै ढलबाट निकास गर्न नमिल्ने व्यवस्था गर्न लागेको जानकारी दिएकी थिइन् ।

फोहरजन्य तरलपदार्थ सिधै ढलबाट निकास गर्दा त्यसमा रहेका रसायनले मानवजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले प्रशोधन गरेर मात्र निकास दिनुपर्नेमा उनले जोड दिइन् । उनका अनुसार खासगरी अस्पताल र औधोगिक कलकारखानाबाट निस्केका फोहरजन्य तरलपदार्थलाई प्रशोधनको आवश्यकता देखिएको थियो ।

त्यस्तै अस्पताल, औधोगक क्षेत्र र अपार्टमेन्टमा अनुमति नलिई बनाइएका डिप बोरिङको कार्यलार्इ निरुहात्सीत गर्ने र अनुमति लिई बनाइएका डिप बोरिङबाट पनि मापदण्डका आधारमा पानी निकाल्नुपर्ने व्यवस्था गर्न लागिएको पनि बताइन् ।

मन्त्री मगरसहितको टोलीले शुक्रबार वीर अस्पताल, शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, वाईवाई कम्पनी र केही अपार्टमेन्ट गरी ८ स्थानको स्थलगत जानकारी लिएको थियो । खानेपानी मन्त्रालयको निर्देशनमा मुलुकका सातवटै प्रदेशमा पनि एकै साथ अस्पताल, औधोगिक क्षेत्र र अपार्टमेन्टको स्थलगत अनुगमन भइरहेको र रिपोर्ट आउन बाँकी रहेको मन्त्री मगरले बताइन् ।

shares