Breaking News

चार दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको ढुवानी आजदेखि सुरु

वीरगंज, ५ असाेज । चार दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको ढुवानी आजदेखि सुरु भएको छ । भदौ १ देखि लागू भएको फौजदारी अपराध संहितामा सवारी चालकहरूलाई कडा सँजायको ब्यवस्था गरिएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आव्हानमा चालकहरूले सवारी साधनहरू बन्द गरेको हुन् ।

असोज २ गतेदेखि चालकहरूले हड्ताल गरेपछि पेट्रोलियम पदार्थको ढुवानीसमेत प्रभावित भएको हो । पेट्रोलियम पदार्थको ढुवानी संचालनको पहल गर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौबाट इन्जिनियरिङ विभागका प्रमुख अशोक साहको नेतृत्वमा एक टोली बीरगंजमा आएको छ । टोलीले बीरगंजका पेट्रोलियम पदार्थको ढुवानीसंग सम्बन्धित ब्यवसायीहरूलाई समन्वय गरेर पेट्रोलियम पदार्थको ढुवानी सुरु गरेको हो ।

सरकारले जारी गरेको सवारी तथा यातायात ब्यवस्था ऐन तेश्रो संशोधनमा भएको ब्यवस्थाले चालकहरू मारमा पर्ने भन्दै सामाजिक संजालबाट आन्दोलनको आव्हान गरिएको र त्यसैको भरमा आन्दोलन भएको हो । आन्दोलनको न त नेतृत्व छ न त कार्यक्रम नै, हल्लाको भरमा आन्दोलन भएको पेट्रोलियम पदार्थ ढुवानी ब्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवको भनाइ छ ।

यस्तो छ कानूनी ब्यवस्था

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सँजायको व्यवस्था गरेको छ ।

कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

तर ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था राखिएको छ ।

उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ ।

सरकारले अहिले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा यो दुवै उपधारालाई जस्ताको त्यस्तै राखेको छ । तर धारा १६१ को उपधारा ३ र ४ मात्रै अहिले संशोधन गरिएको छ ।

उपधारा ३ मा कसैको ज्यान जान सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । तर अहिले संशोधित व्यवस्थामा कैद सजाय यथावत राखिएको छ भने जरिवाना बढाएर पचास हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै उपधारा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ समेत गरिने छ भनेर उल्लेख छ । तर अहिले त्यसलाई बढाएर पचार हजार पुर्याइएको छ ।

यस्तै सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ । उक्त धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसकमध्ये जुनसुकै कुरा भएपनि त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख पुर्याइएको छ ।

अन्धो वा नपुंसक बाहेक अन्य कुनै अङ्ग बेकम्मा भएमा आठ वर्षसम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्थालाई बढाउँदै अहिलेको संशोधित ऐनमा जरिवाना बढाउँदै २ लाख पुर्याइएको छ ।

shares