Breaking News

नेकपाको प्रदेश इञ्चार्जमा पूर्व एमालेको वर्चश्व, पार्टी निर्णय विपरीत दुई मुख्यमन्त्रीलाई इञ्चार्जको जिम्मेवारी

काठमाण्डाै, ५ असाेज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सात प्रदेश कमिटिको इञ्चार्जमा पूर्व एमालेको वर्चश्व देखिएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सातमध्ये छ वटा प्रदेश इञ्चार्ज पूर्व एमाले पृष्ठभूमिका नेतालाई बनाउने निर्णय गरेको छ भने चारवटा प्रदेश कमिटिको अध्यक्षको जिम्मेवारी पूर्व माओवादीका नेताहरूले पाएका छन् ।

पूर्व एमालेको भागमा परेकामध्ये प्रदेश एकमा भीम आचार्य, प्रदेश दुईमा सत्यनारायण मण्डल, प्रदेश तीनमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, प्रदेश पांँचमा शंकर पोखरेल र प्रदेश सातमा भीम रावलले इञ्चार्जको जिम्मेवारी पाएका छन् । यीमध्ये रावल, शाक्य र आचार्य वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् ।

मण्डल, पोखरेल र गुरुङ अध्यक्ष केपी केपी ओली निकट हुन् । कर्णाली प्रदेशको इञ्चार्ज भने पूर्व माओवादी नेता जनार्दन शर्मालाई बनाइएको छ । यस्तै सात प्रदेशको सह इञ्चार्जमध्ये चारजना पूर्व माओवादीका छन् । प्रदेश एकमा सावित्रीकुमार काफ्ले, प्रदेश दुईमा विश्वनाथ शाह, तीनमा नारायण दाहाल र सातमा लक्ष्मणदत्त जोशीले सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

पूर्व एमालेको भागमा परेको गण्डकी प्रदेशको सहइञ्चार्जमा खगराज अधिकारी, प्रदेश पाँचमा दलबहादुर राना र कर्णाली प्रदेशमा यमलाल कँडेलले जिम्मेवारी पाएका छन् । यस्तै प्रदेश कमिटिको अध्यक्षमा पूर्वमाओवादी पृष्ठभूमिका चारजना नेता छन् । प्रदेश दुईको अध्यक्षमा प्रभु साह, प्रदेश तीनको अध्यक्षमा हितमान शाक्य, गण्डकी प्रदेशको अध्यक्षमा हितराज पाण्डे र प्रदेश पाँचको अध्यक्षमा ओनसरी घर्ती रहेका छन् ।

पूर्व एमालेको भागमा परेको प्रदेश एकको अध्यक्षमा देवराज घिमिरे, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र प्रदेश सातमा कर्ण थापाले अध्यक्षको जिम्मेवारी पाएका छन् । सात प्रदेश कमिटिमध्ये प्रदेश तीनको इञ्चार्ज र प्रदेश पाँचको अध्यक्षको जिम्मेवारी महिला नेतृले पाएका छन् ।

राजकीय पदमा पुगेकालाई जिम्मेवारी नदिने गत साउन २४ गतेको सचिवालय निर्णय उल्ट्याउँदै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई इञ्चार्ज बनाइएको छ । दुवै जना पार्टी अध्यक्ष ओली निकटका नेता हुन् ।

shares