Breaking News

प्रतिनिधिसभाका १० वटै विषयगत समितिले पायाे पूर्णता

काठमाण्डाै, ५ असाेज । प्रतिनिधिसभा अन्तर्गतका सबै १० वटा विषयगत समितिले पूर्णता पाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको १० वटै समितिको छुट्टा–छुट्टै बैठकले हिजो निर्विरोध मनोनयनमा परेका उमेद्वारलाई सभापतिमा निर्वाचित भएको घोषणा गरेको हो । जसअनुसार विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छिन् ।खड्काको उम्मेद्वारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहेका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निवाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् । श्रीवास्तवलाई समितिको सभापतिमा विन्दा पाण्डेले प्रस्ताव र गोपालबहादुर बमले समर्थन गरेका थिए ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन् । घर्तीको उम्मेद्वारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेका थिए ।

त्यस्तै अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल, अन्तराष्ट्रिय समितिको सभापतिमा पवित्रा निरौला , कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकमारी सुवेदी, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्वाचित भएका छन् । १० वटा विषयगत समितिमध्ये ९ वटा सत्तापक्षका सांसद र एउटा समितिको सभापति प्रतिपक्ष दल कांग्रेसले पाएको छ ।

shares