Breaking News

भक्तपुरमा आजबाट इन्द्रजात्रा सुरु

भक्तपुर, ५ असोज । भक्तपुरमा आजबाट इन्द्रजात्रा सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्लद्वादशीको दिन भक्तपुरमा इन्द्रको छोराको मूर्तिस्वरूप लिङ्गो उभ्याउने प्रचलन रहेको छ ।

स्थानीय भाषामा सो लिङ्गोलाई योमद्यो भन्ने गरिन्छ । धार्मिक पूजाआजासहित आज बिहान भक्तपुरको तेखापुखु, देगईना, बोलाछेँ, बुलुचा, गाहीटी, साकोठा, गोल्मढी, जेँला, सुर्यमढी, खौमा, चोछें, भोलाछें, इताछेंलगायतका स्थानमा योमद्यो ठड्याइएको छ ।

स्थानीयहरूले जनै पूर्णिमाको दिनमा हातमा लगाएको डोरो फुकालेर आजको दिनमा लिङ्गो अर्थात योमद्योमा बाँध्ने चलन रहेको छ ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन ब्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाउँदा दैंत्यले पक्राउ गरी बाँधेर राखेको प्रतीकको रूपमा लिङ्गो उभ्याउने गरिएको किंबन्दन्ती रहेको स्थानीयको भनाइ छ ।

shares