Breaking News

यातायात मजदुरकाे अान्दाेलनकाे कारण ३ दिनदेखि यात्रु अलपत्र

दिनेश पाण्डे/बुटवल, ५ असोज । सवारी चालक तथा मजदुरहरूले गरेको आन्दोलनका कारण बुटवल बसपार्कमा तीन दिनदेखि सयौं यात्रुहरू अलपत्र परेका छन् । सरकारले नयाँ ल्याएको कानूनमा चालकहरूलाई जन्मकैदको अवधि धेरै बनाएको भन्दै चालकहरूले ३ दिनदेखि गाडी थन्क्याएर आन्दोलन गरेका छन् ।

सार्वजनिक यातायात ३ दिनसम्म नचलेपछि जनजीवन कष्टकर बनेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफलपछि यातायात व्यवसायी र मजदुर संगठनबीच शुक्रबारदेखि गाडी चलाउने सहमति भएको थियो । तर आज पनि मजदुरहरूले गाडी चलाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि यातायात व्यवसायी र मजदुर संगठनको नेतृत्वसहित ईलाका प्रहरी कार्यालय बुटवलले गाडी संचालन गर्न चालक तथा मजदुरहरूलाई आग्रह गरेपनि मजदुरहरूले आग्रहलाई अस्वीकार गरेका छन् ।

जिल्ला प्रशासनमा भएको सहमतिमा यातायात व्यवसायीले सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने र गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने सहमति गरिएको थियो ।

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले भदौ १ गतेदेखि जारी नयाँ कानूनमा सजाय बढाइएकाले प्रशासनलाई लाइसेन्स बुझाएर आन्दोलनमा उत्रिएको बताएका छन् ।
चाडपर्व भित्रिएसंगै रोजगारी र अन्य कारणले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रबाट घर फर्किंदै गरेका यात्रुले यातायात बन्दका कारण सास्ती पाएका छन् ।

अध्ययनको लागि पाल्पा र पोखरा बस्दै आएका धनगढीका लक्ष्मण सिंह, सागर भण्डारी र खेमराज भट्टराई तीन दिनदेखि बसपार्कको यात्रु प्रतीक्षालयमा छन् । हिंड्दा यातायात बन्द छ भन्ने थाहा नभएको र थोरै खर्चमा घर फर्किएका उनिहरूले गाडी नचलेपछि दुई रात यात्रु प्रतीक्षालयमै बिताएको बताए । उनीहरूजस्तै विभिन्न स्थानबाट गन्तव्यमा पुग्न बुटवल आइपुगेका यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।

भैरहवामा रहेको सिद्धार्थ यातायात प्रालीले भने आफूसँग भएका बसहरू संचालन गरेको छ । बुटवल भैरहवाका लागि संचालन गरिएका १५ वटा बसलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रदान गर्ने आश्वासन दिएपछि संचालन गरिएको बताए ।

यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश ५ ले भने गाडी यथावत् चलाउन चालकलाई आग्रह गरेको छ । संगठनका प्रदेश अध्यक्ष कृष्ण कँडेलले विज्ञप्ति जारी गर्दै सवारी ऐन २०४९ को व्यवस्थाभन्दा भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता अग्रगामी भएकाे बताएका छन् । कानूनको अध्ययन नगरी विरोध गर्नुको औचित्य नरहेको विज्ञप्तिमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले यातायात संचालन गर्ने सहमतिपछि पनि गाडी नचलाउने चालक तथा मजदुरलाई कारबाही गरिने बताए ।

shares