Breaking News

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक तत्काल संशोधन गर्न एन प्याब्सनकाे माग

काठमाण्डाै, ५ असाेज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब्सन) ले संघीय संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ ।

एन प्याब्सनले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मान्य नहुने चेतावनी दिँदै तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो । निजी विद्यालयहरूलाई मारमा पार्ने गरी संसदबाट पारित गरिएको सो विधेयक तत्काल खारेज गर्न माग गर्दै एन प्याब्सनले शुक्रबार काठमाडौंको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन-पत्र पनि बुझाएको छ ।

आफूहरूलाई बाईपास गरेर ल्याइएको सो विधेयक तत्काल संशोधन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापन-पत्र बुझाउनु परेको एन प्याब्सनका अध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी आचार्यलाई ज्ञापन-पत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै अध्यक्ष पराजुलीले निजी क्षेत्रलाई मारमा पार्नेगरी आएको सो विधेयक तत्काल संशोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधानसहित पारित भएको सो विधेयक तत्काल संशोधन गर्नुपर्ने एन प्याब्सनको मुख्य माग छ । निजी क्षेत्रबाट संचालित विद्यालयले निःशुल्क विद्यालय संचालन गर्न नसक्ने भएकाले सो प्रावधान उनीहरूको हकमा पूर्ण रूपमा लागू नहुने प्रावधान राखेर विधेयक संशोधन गर्न पनि अध्यक्ष पराजुलीले सरकारको गम्भीर ध्यानाकर्षण गराए । त्यसैगरी एन प्याब्सनले निजी विद्यालयले पूर्ण रूपमा छात्रवृत्तिको व्यवस्था गर्न नसक्ने भएकाले सोही प्रावधान विधेयकमा समावेश गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

shares