Breaking News

किशोर-किशोरीले कम प्रयोग गर्छन्, परिवार नियोजनका साधन

काठमाण्डाै, ४ असाेज । सरकारी तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा २० वर्ष मुनिका किशोरीले गर्भपतन गराउने क्रम बढिरहेको छ । परिवार नियोजनका साधनको प्रयोग नगर्दा रहने अनिच्छित गर्भका कारण उनीहरू समस्यामा पर्ने गरेका छन् । किशोर–किशोरीमा अस्थायी साधनबारे ज्ञान भएपनि प्रयोग भने कमै मात्र छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्याल भन्छिन्, ‘किशोर–किशोरीमा परिवार नियोजनसम्बन्धी ज्ञान नभएको होइन, छ तर उनीहरूले यसलाई कमै मात्र प्रयोग गर्छन् ।’

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार १५ देखि १९ वर्षका १७ प्रतिशत महिलाहरू किशोरी उमेरमै आमा भइसक्छन् । १५ देखि ४९ वर्षका ५३ प्रतिशत विवाहित महिलाले परिवार नियोजनका कुनै न कुनै साधन प्रयोग गर्छन् । जसमध्ये ४३ परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने महिलाको संख्या ४३ प्रतिशत छ ।

पपुलेसन सर्भिस इन्टरनेशनल नेपाल पीएसआईकी सिनियर म्यानेजर डा. बीना श्रेष्ठले २० वर्षमुनि हुने गर्भधारण, असुरक्षित गर्भपतन, अनिच्छित गर्भ रोक्न पनि किशोर–किशोरीमा परिवार नियोजनका साधन प्रयोगबारे चेतना बढाउनु आवश्यक रहेकाे बताइन् ।

‘यो किशोर–किशोरीको चासोकाे विषय मात्र पनि होइन । यसमा सबैले ध्यान दिनु जरुरी छ’, डा. श्रेष्ठले भनिन् । मातृ मृत्युदर घटाउने तथा जनसंख्या व्यवस्थापनको गतिलो माध्यमका रूपमा परिवार नियोजनका कार्यक्रमलाई प्राथमिकता दिएको र किशोर–किशोरीमा यस सम्बन्धी चेतना बढाउन स्थानीय तथा केन्द्रीय स्तरमा त्यसै अनुसार कार्यक्रम तय गरिएको सरकारको दाबी छ । एक विद्यालय, एक नर्स अवधारणा कार्यान्वयनमा ल्याउन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग छलफल भइरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

अर्याल भन्छिन्, ‘प्रत्येक स्वास्थ्य संस्थालाई मैत्रीपूर्ण बनाउनतर्फ ध्यान जानु जरुरी छ । अब केन्द्रीय सरकारले मात्र नभई स्थानीय तथा प्रादेशिक सरकारले पनि यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ र राखेको पनि छ ।’

सरकारले यौन शिक्षा तथा परिवार नियोजनको अस्थायी साधनसम्बन्धी कार्यक्रम प्रभावकारी भएको बताइरहेपनि प्रभाव भने देखिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याङ्क अनुसार उपत्यकामा हुने कुल गर्भपतनमध्ये २० वर्षमुनिका किशोरीको संख्या करीब २५ प्रतिशत छ । यसमा कमी ल्याउन अब स्वयम् किशोर–किशोरी नै सचेत हुनु आवश्यक देखिन्छ।

shares