Breaking News

नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकाेमा प्रधानमन्त्रीकाे चिन्ता

काठमाण्डाै, ४ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकाेमा चिन्ता व्यक्त गरेका छन् ।

बिहीबारबाट काठमाडौंमा सुरु सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा विषयक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले झण्डै दुई तिहार्इ जनसङ्ख्या कृषि पेशामा आवद्ध भएपनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन् । उनले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताए ।

प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोन परियोजना लागू भएको जानकारी पनि दिए । उनले आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानुपर्ने बताए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन असोज ७ गतेसम्म चल्नेछ । दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३ सय कृषिविज्ञ सहभागी सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् । सम्मेलनले काठमाडौ घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ ।

shares