Breaking News

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुने निश्चित

काठमाण्डाै, ४ असाेज । प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरूको सभापतिको निर्वाचनका लागि १० जनाकै उम्मेद्वारी परेको छ ।

बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दशवटा विषयगत समितिका सभापतिका लागि १० जनाले उम्मेद्वारी दिएका हुन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उम्मेद्वारी परेको छ ।

सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानून, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको सभापतिमा उम्मेद्वारी परेको छ ।

त्यसैगरी शशि श्रेष्ठको राज्य व्यवस्था तथा सुशासन समितिमा, कृष्णप्रसाद दाहालको अर्थ समितिमा, जयपुरी घर्तीको शिक्षा तथा स्वास्थ्य समितिमा र कल्याणी कुमारी खड्काको विकास तथा प्रविधि समितिमा सभापतिको उम्मेद्वारी परेको छ । सबै विषयगत समितिको सभापतिमा १/१ जनाको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित हुनेछन् ।

५ गते शुक्रबार ती सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । शुक्रबार नै निर्वाचित सभापतिहरूको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनेछन् । सपथसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गर्ने पनि सचिव योगीले बताए ।

१० मध्ये ८ वटा विषयगत समितिको सभापतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूको उम्मेद्वारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालका विमलप्रसाद श्रीबास्तवको उम्मेदवारी दिएका छन् ।

शक्तिशाली मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले दिएका छन् । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको चयन यसअघि नै भइसकेको छ ।

shares