Breaking News

प्रमुख आयुक्तमा सिफारिस घिमिरेद्वारा सुनुवाइ समितिमा कार्ययोजना पेश

काठमाण्डाै, ४ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले पछिल्लो समय भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना पेश गर्दै घिमिरेले भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडेको कारण वर्तमान सन्दर्भमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको प्रतिक्रिया दिएका हुन् ।

भ्रष्टाचार नियन्त्रण गर्न आयोगलाई विज्ञ कर्मचारी आवश्यक रहेको उनले बताए ।  प्रमुख अायुक्तमा सिफारिस हुनुअघि अख्तियारकै आयुक्तकाे रूपमा काम गरिरहेका घिमिरेले अख्तियारले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्न थालेको बताए ।

उनले जिम्मेवारी पाएकाे खण्डमा अाफ्नाे २ वर्षे कार्यकालमा कानुनी र नितिगत सुधारको प्रयास गर्ने प्रतिबद्धता कार्ययोजनामा उल्लेख गरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्यका लागि विशेष निगरानी गर्नेमा उनले जाेड दिए ।

अख्तियारभित्रै पनि भ्रष्टाचारको आन्तरिक अनुसन्धान सुरु गर्न लागिएको उनले जानकारी दिए ।

shares