Breaking News

डीपीआर नबन्दै रूख कटानको हतारो नगर्न सरकारको ध्यानाकर्षण

काठमाण्डाै, ४ असाेज । निजगढ अन्तराष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नबन्दै रूख कटानको तयारी गरिएको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसदहरूले डीपीआर नबन्दै रूख कटानको हतारो नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद हृदयेश त्रिपाठीले निजगढ विमानस्थलको विषयमा केही विरोध नभएपनि कामगर्ने प्रवृत्ति र कामगर्ने शैलीमा प्रश्न उठेको बताए ।

त्रिपाठीले डिपीआर तयार नभएको र लागत कति लाग्ने भन्ने तय भइनसकेको भन्दै अर्बौंको रूख कटानी गर्नेमा हतार नगर्न सुझाव पनि दिए । स्रोत नखोजी रूख कटानी गर्दा पछि कब्जा गरेर बस्ती बस्ने काम सुरु हुने भन्दै सांसद त्रिपाठीले स्रोतको लगानी खोजेर मात्र रूख कटानीको काम सुरु गर्न माग गरे ।

त्यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थल आयोजनाको डीपीआर नै नबनी रूख कटानी गर्ने तयारी गर्नु आपत्तिपूर्ण भएको बताए । नेपाल सरकारको वातावरण मूल्याङकन प्रतिवेदनमा २४ लाख ५० हजार ८ सय रूख काट्नु पर्ने देखिएकोमा ८ लाख रूख काट्ने प्रस्ताव मन्त्रिपरिषदमा जान लागेको भन्ने विषयमा उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

बैठकमा सांसद डिला सङ्ग्रौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरिन् । त्यस्तै सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधनको बहानामा विखण्डन गर्ने कार्य स्वीकार्य नहुने बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गरे ।

shares