Breaking News

गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गरिन्छ: प्रधानमन्त्री

काठमाण्डाै, ४ असाेज । प्रधानमन्त्री केपी ओलीले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले ‘कम खर्चमा बढी प्रतिफल’ आउने गरी निर्माण कार्यलाई तीव्रता दिन पनि निर्माण व्यवसायीहरूलाई आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघको २० औं वार्षिक साधारण सभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले जानीजानी कम गुणस्तरको काम गरे सैह्य नहुनेतर्फ पनि निर्माण व्यवसायीहरूलाई सचेत गराए ।

उनले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै इमान्दार भएर मुलुकको निर्माण कार्यमा जुटनुपर्नेमा पनि जोड दिए । निर्माण व्यवसायीहरूले उत्पादन कार्यलाई बढावा दिने गरी पूर्वाधार निर्माणको काममा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकास, उन्नति र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै सबै क्षेत्रलाई योजनाबद्ध ढंगले मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न पनि आह्वान गरे । उनले सबै ढंगले उत्तम रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाको रूपमा विकास गर्ने दायित्व पूरा गर्न सबै पक्ष केन्द्रित हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले सार्वजनिक खरिद ऐन, मुलुकी अपराध संहिता (ऐन) लाई व्यवहारिक हुनेगरी संशोधन गर्न सरकारसँग माग गरे । उनले निर्माण व्यवसायीहरूलाई जेल सँजाय दिनेसहितको मुलुकी अपराध संहिताबाट व्यवसायीहरू पलायन हुने अवस्था आएको भन्दै त्यसलाई संशोधन गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए ।

कार्यक्रममा जेष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानन्धरलाई पनि सम्मान गरिएको थियो । ३ दिनसम्म चल्ने साधारण सभाले महासंघको ३ वर्षे कार्यकालका लागि भावी नेतृत्व चयन गर्नेछ ।

shares