Breaking News

मन्त्रालयमा किसान पेन्सन योजना अलपत्र

काठमाण्डाै, २ असाेज । कृषि तथा पशुपंक्षी मन्त्रालयमा किसान पेन्सन योजना अलपत्र परेको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले किसान पेन्सन योजना अघि बढाउन नसकिएको स्वीकार गरेसँगै सो योजना अलपत्र परेको हो ।

मंगलबार आफ्नो मन्त्रालयको ६ महिनाका मुख्यमुख्य उपलब्धीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो योजना अघि बढाउन आफू एक्लैले नसक्ने उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्री डा. युवराज खतिवडासँग आवश्यक छलफल गर्ने पनि बताए ।

हरिबोल गजुरेल कृषिमन्त्री हुँदा यो योजना अघि सारिएको थियो । मन्त्री खनालले सो योजना अघि बढाउन राष्ट्रिय किसान आयोगलाई जिम्मेवारी दिइएको पनि बताए । प्रधानमन्त्रीकै तहबाट निर्णय नभई किसान पेन्सन योजना अघि बढाउन नसकिने मन्त्री खनालको स्पष्टिकरण छ ।

मन्त्री खनालले ६ महिनाको अवधिमा मन्त्रालयले खाद्य स्वच्छता, कृषि व्यवसाय प्रवर्द्धन, बीउबिजन ऐनलगायतका एक दर्जनबढी कानून निर्माणको काम सम्पन्न गरिएको पनि जानकारी दिए ।

shares