Breaking News

प्रतिनिधिसभा बैठककाे शून्य समयमा सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाण्डाै, २ असाेज । प्रतिनिधिसभाका सांसदहरूले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाका सांसदहरूले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पनि सरकारलाई पुनः दबाब दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शेरबहादुर तामाङले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारसँग माग गरे । उनले मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रमा बनाउन बाँकी रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेबाट सरकारको क्षमतामाथि नै प्रश्न उठेको टिप्पणी गरे ।

अर्का सांसद बिन्दा पाण्डेले सरकारले मौलिक हकसम्बन्धी कानून निर्माणको काम समयमै सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनबाट महिला हिंसामा पनि कमी आउने विश्वास व्यक्त गरे । सांसद बसन्तकुमार नेम्वाङले सरकारलाई विकास निर्माणतर्फ केन्द्रित हुन आग्रह गरे । उनले सरकारले मौलिक हकसँग सम्बन्धित कानून समयमै निर्माण सम्पन्न गरेकोमा खुसी पनि व्यक्त गरे ।

सांसद विमला विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन आवश्यक बजेटको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । खोटाङ जिल्ला अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । सांसद विशाल भट्टराइले खोटाङ जिल्ला अस्पतालमा स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन् ।

यता, सांसद शान्ता चौधरीले सरकारमाथि आलोचना गर्न साना विषयलाई पनि पहाड बनाउने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सप्तरीमा स्वाईन फ्लूले ज्यान लिँदा पनि सरकारले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्न नसकेको पनि सांसदहरूले गुनासो गरेका छन् । सांसद सरिताकुमारी गिरीले स्वाईन फ्लू नियन्त्रणका लागि आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरेकी हुन् ।

त्यसैगरी सांसद संजयकुमार गौतमले बर्दियामा बाघ, हात्ती र गैंडाको आक्रमणबाट पीडितलाई उचित राहत दिन सरकारसँग माग गरे । सांसदहरू सत्य पहाडी, सूर्यप्रसाद पाठक, ज्ञानकुमारी छन्त्याललगायतले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याबारे सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

shares