Breaking News

प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई कांग्रेसले साथ दिंदैन: गिरी

काठमाण्डाै, २ असाेज । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई कांग्रेसले साथ नदिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले कांग्रेसले प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई साथ नदिने भन्दै सरकारले आफूलाई सुधार गर्न सुझाव दिए । उनले प्रमुख प्रतिपक्षीलगायत अन्य दललाई शंका गर्नेभन्दा सरकार आफैं विश्वासमा उभिन सुझाव पनि दिए ।

संविधानका विषयमा भइरहेको मतान्तर अन्त्य गर्न सरकारले अग्रसरता लिनुपर्ने उनको भनाइ छ । उनले मधेशवादी दलले संविधान जारी भएको ३ वर्षको चियापान बहिस्कार गर्ने कारणमा ध्यान दिन पनि सुझाव दिए । संविधान जारी हुँदा बहिस्कार गरेका व्यक्तिले १० वर्षपछि आफू बदलिएको भन्दै उनले संसदको सम्मान गरेको प्रसंग सुनाउँदै सबैलाई समेट्न आग्रह गरे ।

बैठकमा नेकपा नेता खगराज अधिकारीले मुलुक समृद्धि र विकासमा अघि बढिरहेको भन्दै विरोधका लागि विरोध गरिनु उचित नभएको धारणा राखे । मुलुकलाई सुशासन चाहिएको भन्दै टुक्रे कुरामा नअल्झन उनले आग्रह गरे ।

प्रतिनिधिसभाको बैठकबाट ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज चार गते बोलाइएको छ ।

shares