Breaking News

अखिल क्रान्तिकारीले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने

काठमाण्डाै, २ असाेज । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले मुलुकमा रहेको दुईवटा शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिबका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोर शिक्षा नीतिका साथै निजीकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने राष्ट्रिय सम्मेलनले निर्णय गरेको हो ।

गोपाल किराती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष आलोक रायमाझीले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुको साथै शैक्षिक क्षेत्रमा आगामी संघर्षका कार्यक्रम तय गरेको जानकारी दिए ।

२२ औं राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगति, निजीकरण, व्यपारीकरण, माफियाकरण, भ्रष्टीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए । त्यसैगरी शिक्षा क्षेत्रका दलाल तथा माफियाहरूको सूची तयार गरेर भण्डाफोर र कारबाही गर्ने, गैरकानुनी रूपमा संचालित विदेशी शिक्षण संस्थाहरूलाई खारेजीको लागि दबाबमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय गरेको उनले बताए ।

सम्मेलनले रायमाझीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महासचिव सुन्दर रायमाझी, सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमला बोहरा र कोषाध्यक्ष बिनोद सुनाम रहेका छन् । प्रत्येक प्रदेशमा एकएक हुने गरी ७ उपाध्यक्ष बनाउने पनि सम्मेलनले निर्णय गरेको छ ।

shares