Breaking News

संविधान दिवसको अवसरमा अायाेजित हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलार्इ

काठमाण्डाै, २ असाेज । संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् राखेपले आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप परिसरमा मंगलबार बिहान भएको म्याराथनको उपाधि पार्कीले जितेका हुन् । हाफ म्याराथनको निर्धारित दूरी २१ किलोमिटर पार्कीले १ घण्टा १० मिनेट ५४ सेकेण्डमा पूरा गरेका थिए । दोस्रो, तेस्रो र चौथो स्थानमा भने आर्मीका खेलाडी आएका थिए ।

१ घण्टा ११ मिनेट ५ सेकेण्डमा दूरी पूरा गर्ने त्रिभुवन आर्मीका होमलाल श्रेष्ठ दोस्रो भएका थिए । त्यस्तै तेश्रो भएका हरिकुमार रिमालले १ घण्टा १२ मिनेट २५ सेकेन्डमा दूरी पूरा गरे । खगेन्द्र भाट १ घण्टा १२ मिनेट ४५ सेकेन्डका साथ चौथो हुँदा एपीएफका किरनसिंह बोगटी र खिमबहादुर खत्री पाँचौ र छैटौं स्थानमा रहेका थिए ।

हाफ म्याराथनको उपाधि जितेका गोपीले ५० हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो भएका होमलालले ३० हजार र तेस्रो स्थान हात पारेका हरिले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो हुनेले १० हजार प्राप्त गर्दा पाँचौ र छैटौ भएकाले समान ५ हजार प्राप्त गरेका थिए ।

विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट र युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन प्रकाश सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।

shares