Breaking News

त्रिवि सभाद्वारा अाव ०७५/०७६ का लागि बजेट पारित

काठमाण्डाै, २ असाेज । त्रिभुवन विश्वविद्यालयको वार्षिक सभाले आर्थिक वर्ष ०७५/०७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको त्रिवि सभाले उक्त रकम बराबरको बजेट पारित गरेको हो । प्रस्तावित बजेटमा संचालन खर्चको हिस्सा ७९ दशमलव १२ प्रतिशत रहेको छ भने पुँजिगत खर्चको हिस्सा २० दशमलव ८८ प्रतिशत रहको छ ।

यसमा पुननिर्माणका लागि प्राप्त हुने रु ५० करोड रुपैयाँ र उच्च शिक्षा सुधार परियोजनाबाट निकाय र ईकाईगत रूपमा प्रदान गरिने रु ५६ करोड ६ लाख १५ हजार रुपैयाँ भने समावेश नगरेको विश्वविद्यालयका रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयले शिक्षण क्रियाकपालमा प्रविधिको पहुँच विस्तार गर्न पूर्वाधार विकासका लागि ३ करोड छुट्याएको जनाएको छ । प्राविधिक शैक्षिक कार्यक्रम अन्तर्गत नयाँ कार्यक्रम तथा विषय विस्तारका लागि १० करोड ८८ लाख छुट्टयाइएको उपकुलपति प्राध्यापक डाक्टर तीर्थ खनियाँले जानकारी दिए ।

उपकुलपति खनियाँले सन् २०३० भित्रमा विश्वका एकहजार विश्वविद्यालयभित्र पर्ने गरी विश्वविद्यालयले उत्कृष्ट कार्यक्रम ल्याइने जानकारी दिए । उनले उच्च शिक्षामा विश्वव्यापी परिवर्तनलाई ध्यानमा राखी ‘विकासका लागि त्रिवि भिजन २०३०’ तयार गरी यसका निम्ति रणनीतिक योजना तयार गरिएको जानकारी पनि दिए ।

shares