Breaking News

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको संसदीय सुनुवाइ ४ गते हुने

काठमाण्डाै, २ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका नविनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाइ बिहीबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मण लाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदको गत भदौ २० गते बसेको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

shares