Breaking News

छैटौं राष्ट्रिय विज्ञान दिवस मनाइयाे

काठमाण्डाै, १ असाेज । ‘विज्ञान तथा प्रविधि, दिगो विकास र समृद्धि’ भन्ने नारासहित सोमबार छैटौँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ ।

यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्ध नेपाल सुखी नेपालीलाई साकार गर्न विज्ञान क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले विज्ञान र प्रविधिकोे अनुसन्धानबाट नै नयाँ प्रयोग गर्दै श्रमलाई सीपमा रुपान्तरण गर्नुपर्ने धारणा राखे । सरकारले विज्ञान र प्रविधिमैत्री नीतिनियम निर्माण गर्दै अनुसन्धानका लागि बजेट थप गर्न सरकार तयार रहेको बताए ।

नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भएपनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन नसकेको कार्यक्रमका सहभागीले बताएका थिए ।

shares