Breaking News

सडक पुनर्निर्माणको काम तत्काल गर्न सांसदहरूकाे माग

काठमाण्डाै, १ असाेज । प्रतिनिधिसभाका सांसदहरूले बाढी, पहिरोले क्षति पुर्‍याएका सडक पुनर्निर्माणको काम तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद यज्ञराज सुनुवारले बाढी, पहिरोले क्षति पुर्‍याएका सडक पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका हुन् । दसैं, तिहार जस्ता चाड पर्व आइसकेकाले सडक पुनर्निर्माणको काममा ढिलाइ गर्न नहुने सांसद सुनुवारको भनाइ छ ।

त्यसैगरी, सांसदहरूले समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् । सांसद विमला विश्वकर्माले भौतिक पूर्वाधार निर्माणको जिम्मा लिने ठेकेदारले समयमा गुणस्तरीय काम नगर्दा पनि सरकारले कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाइन् । उनले गुणस्तरहीन काम गर्ने ठेकेदारहरूलाई कहिले कारबाही हुन्छ भनी सरकारसँग प्रश्न पनि गरिन् ।

अर्का सांसद भूपेन्द्रबहादुर थापाले कालीगण्डकी नदीमा आएको बाढीका कारण बेनी बजार जोखिममा परेको भन्दै सो बजारको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । उनले बजार सुरक्षाका लागि निर्माण गरिएको कंक्रिट वाल एक वर्ष पनि नबित्दै भत्किएको भन्दै सो वाल निर्माण गर्ने ठेकेदारलाई आवश्यक कारबाही गर्न पनि सरकारसँग माग गरे ।

सांसद महेश्वरजंग गहतराज ‘अथक’ले स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि तथा निर्देशिका तत्काल ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । सरकारले नीति तथा कार्यक्रम ल्याएको चार महिना बित्दा पनि स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि ल्याउन नसकेकोमा उनको आपत्ति छ ।

सांसद मिनबहादुर विश्वकर्माले सवारी लाईसेन्स लिएका सवारी चालकलाई पनि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै कारबाही गर्न सरकारसँग माग गरे ।

shares