Breaking News

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) काे छायाँ प्रतिवेदन तयार

काठमाण्डाै, १ असाेज । महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) काे छायाँ प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदन तयारीका लागि सबै प्रदेशहरूमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरिसकेको सञ्जालले सोमबार काठमाडौंमा परामर्शबाट आएका सवाल तथा सुझावहरूका सम्बन्धमा केन्द्रियस्तरमा छलफल समेत गरेको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (महिला महासन्धि) नेपालले सन् १९९१ अप्रिल २२ मा कुनै पनि शर्तबिना अनुमोदन गरेको छ ।

अनुमोदन गरेका राष्ट्रद्वारा हरेक ४ वर्षमा महासन्धिले गरेको व्यवस्था अनुसार पक्ष राष्ट्रले गरेको प्रगति विवरणको रूपमा महासन्धि अनुगमन समितिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने दायित्व अनुसार नेपाल सरकारले सन् २०१७ अप्रिलमा समितिसमक्ष प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनको परिपूरकका रूपमा नागरिक समुदायका तर्फबाट पनि प्रतिवेदन पेश गर्नुपर्ने भएकाले छायाँ प्रतिवेदन तयार गरिएको सञ्जालकी अध्यक्ष डाक्टर रेणुराज भण्डारीले जानकारी दिइन् ।

सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला/मानव अधिकार रक्षकहरू, अधिकारकर्मीहरू, नागरिक समुदायका प्रतिनिधिहरूसँग परामर्श गरी महिला हिंसा, महिला स्वास्थ्य र महिला मानव अधिकार रक्षकहरूका सवालमा केन्द्रित गरी छायाँ प्रतिवेदन तयार गरेको हो ।

shares